कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१ स्थित आन्दोलन चोकमा ट्रकको ठक्करबाट एक महिला साइकलयात्रीको मृत्यु भएको छ।
हुलाकी सडकखण्डमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख. २३६० नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेकी कपिलवस्तु नगरपालिका–२, बर्गदवा बस्ने अन्दाजी २२ वर्षीया निशा गद्दीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ट्रक मोरङको सुनवर्षी नगरपालिका–१० निवासी ४३ वर्षीय कृष्णप्रसादले चलाइरहेका थिए।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी गद्दीलाई वडा प्रहरी कार्यालय तौलिहावा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहावा पुर्याएको थियो।
अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा गद्दीलाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक र चालक कृष्णप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।








Add Comment