बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३, माझँकटेरामा लेबर काम गर्ने एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठेखोला गाउँपालिका–३, माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा लेबर काम गरी बस्दै आएका ढोरपाटन नगरपालिका–७ स्थायी घर भई हाल ढोरपाटन नगरपालिका–५ बस्ने ३६ वर्षीय अशोक खत्रीको हत्या भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना २०८३ साउन २६ गते राति करिब ९ः४० बजे भएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा खत्रीसँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ घर भएका २५ वर्षीय अर्जुन घर्ती मगरले धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरीले स्थानीयसँग समन्वय गरी खोजी थालेको थियो। घटनापछि भाग्न नपाउँदै प्रहरीले अर्जुन घर्ती मगर र उनीहरूसँगै काम गरी बस्ने ढोरपाटन नगरपालिका–५ घर भएका ३६ वर्षीय रिखे दमाईलाई काठेखोला गाउँपालिका–३, धम्जा माझँकटेराबाट सोही राति पक्राउ गरेको जनाएको छ।
फोनमा ठूलो स्वरमा कुरा गरेको विषयमा विवाद
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अशोक खत्री, अर्जुन घर्ती मगर र रिखे दमाई सँगै काम गर्दै आएका थिए।
अनुसन्धानका क्रममा साउन २० गते तीनै जना काठेखोला गाउँपालिका–३, धम्जा माझँकटेरामा स्थानीय देवेन्द्र खत्रीको ओखरको बिरुवा रोप्ने कामका लागि घरबाट हिँडेका थिए। बाटोमा अशोक खत्रीको घरमा काम परेपछि उनी बीचबाटोबाटै घर फर्किएका थिए भने अर्जुन घर्ती मगर र रिखे दमाई काम गर्ने स्थानमा पुगेका थिए।
त्यसपछि साउन २४ गते अशोक खत्री काम गर्ने स्थानमा पुगेपछि तीनै जना सँगै बस्दै आएका थिए।
प्रहरीका अनुसार साउन २५ गते राति तीनै जनाबीच फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सामान्य विवाद भएको थियो। भोलिपल्ट साउन २६ गते दिनभरको काम सकेपछि तीनै जना सँगै बसेर मादक पदार्थ सेवन गर्ने क्रममा अघिल्लो दिनको विषयलाई लिएर पुनः विवाद भएको थियो।
सोही क्रममा अर्जुन घर्ती मगरले अशोक खत्रीमाथि धारिलो चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
परिवारमा तीन छोरा, श्रीमती गर्भवती
मृतक अशोक खत्रीका १२ वर्ष, ९ वर्ष र ७ वर्षका तीन छोरा रहेको जनाइएको छ। उनकी श्रीमतीसमेत गर्भवती रहेको र परिवारको मुख्य आर्थिक आधार अशोक खत्री नै रहेको बताइएको छ।
मृतककी श्रीमती दिलमाया भण्डारीले कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।
घटनामा प्रयोग भएको भनिएको चक्कु तथा रगत लागेको कपडालगायतका दशी प्रमाण प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका अर्जुन घर्ती मगर र रिखे दमाईलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा रिखे दमाईको संलग्नताको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरी अनुसन्धानबाट घटनाको थप तथ्य तथा पक्राउ परेका दुवै जनाको भूमिकाबारे स्पष्ट हुने जनाइएको छ।








Add Comment