विविध

लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, चार जना घाइते; दुईको अवस्था गम्भीर

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अन टेस्ट ईभी हाइस अनियन्त्रित भई सडकछेउको घरको गेटमा ठोक्किएको थियो। त्यसपछि गेटनजिक पार्किङ गरेर राखिएको बा.१८ च. ९२८८ नम्बरको कारमा समेत ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा कारमा सामान्य क्षति पुगेको छ।

दुर्घटनामा घाइते हुनेहरूमा हाइस चालक महालक्ष्मी नगरपालिका–८, लुभुका २६ वर्षीय अखिल राजथला रहेका छन्। उनको अवस्था गम्भीर रहेको र किस्ट अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, महालक्ष्मी नगरपालिका–७, चागाथलीका २५ वर्षीय आशिष महर्जन पनि गम्भीर घाइते भएका छन्। उनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।

मकवानपुर घर भई हाल महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने १८ वर्षीया एलिसा लामाको अवस्था मध्यम रहेको छ। उनको किस्ट अस्पतालमा उपचार भइरहेको छ।

महालक्ष्मी नगरपालिका–८, लुभुका २६ वर्षीय राज महर्जनको अवस्था सामान्य रहेको र उनको पनि किस्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको समयमा ईभी हाइसमा चालकसहित चार जना मात्र सवार थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।