बारा । कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिका रातभरको खोजतलासपछि सकुशल फेला परेकी छन्।
मुकेशकुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे घरअगाडिबाट हराएकी थिइन्। बालिका नभेटिएपछि परिवारले खोजी सुरु गरेका थिए।
बालिकाका हजुरबुवा मदन मण्डलले राति ८ः४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा जानकारी गराएपछि प्रहरीले तत्काल खोजी अभियान थालेको थियो।
प्रहरीले रातभर विभिन्न टोली बनाएर सम्भावित स्थानमा खोजतलास गरेको थियो। खोजी कार्यमा कुकुरसहितको प्रहरी टोली समेत परिचालन गरिएको थियो।
लगातारको खोजीका क्रममा आइतबार बिहान करिब ५ः४५ बजे कलैया उपमहानगरपालिका–२६, सिस्वास्थित बाटोमा बालिका सकुशल अवस्थामा फेला परेकी हुन्।
फेला परेपछि आवश्यक प्रक्रिया पूरा गरी बिहान करिब ११ बजे बालिकालाई उनका बुबा मुकेशकुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
बालिका कसरी घरबाट टाढा पुगिन् भन्ने विषयमा आवश्यक जानकारी संकलन भइरहेको छ।








Add Comment