विविध

जापानमा नेपाली विद्यार्थी मृत फेला, शरीरमा धेरै चोटका निशान

जापान । जापानको फुकुओका सहरमा नेपाली व्यावसायिक विद्यालयमा अध्ययनरत लक्ष्मी राजवंशी नदीमा मृत फेला परेपछि प्रहरीले घटनालाई हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ।

राजवंशीको शव अगस्ट १९ बिहान फुकुओका सहर हुँदै बग्ने नाका नदीमा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउकोमा कडा वस्तुले प्रहार गरेको जस्तो देखिने धेरै चोट भेटिएपछि प्रहरीले घटनालाई हत्या मानेर विशेष अनुसन्धान टोली गठन गरेको हो।

अनुसन्धानका क्रममा राजवंशीको हातमा समेत धेरै चोटका निशान भेटिएका छन्। प्रहरीले ती चोटहरू आक्रमणबाट जोगिन खोज्दा अर्थात् आत्मरक्षाका क्रममा लागेको हुनसक्ने जनाएको छ।

हात र टाउकोमा देखिएका चोटका आधारमा प्रहरीले आक्रमणकारीले राजवंशीमाथि पटक–पटक प्रहार गरेको हुनसक्ने र हत्या गर्ने गम्भीर उद्देश्यका साथ आक्रमण भएको हुनसक्ने आशंका गरेको छ।

प्रहरीका अनुसार घटनाअघि राजवंशीले कुनै विवाद, धम्की वा समस्याबारे प्रहरीमा जानकारी गराएकी थिइनन्।

घटनामा संलग्न व्यक्ति अहिलेसम्म पहिचान हुन सकेका छैनन्। प्रहरीले उपलब्ध प्रमाण तथा अन्य सूचनाका आधारमा आक्रमणकारीको पहिचान र खोजीलाई तीव्रता दिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको छ।