विविध

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आगामी समय पनि वर्षाको गतिविधि जारी रहने देखिएको छ।

हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै क्षेत्रमा वर्षा भइरहेको छ। मधेशका एक–दुई स्थानमा समेत मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ।

तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा मधेश र कोशीका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले संकेत गरेको छ।

यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपात र पहाडी भूभागका विभिन्न स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। वर्षाका कारण पहाडी क्षेत्रमा सडक तथा यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।