उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले गाँजासहित एउटा टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर रोकेर जाँच गर्ने क्रममा ९ वटा बोराभित्र लुकाएर राखिएको १९९.३२ केजी गाँजा फेला पारेको हो।
गाँजा बरामद भएपछि प्रहरीले टिपरका चालक सोम मगरलाई नियन्त्रणमा लिएको छ।
घटनामा गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजान खोजिएको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।