विविध

कञ्चनपुरमा पैदलयात्रीलाई ठक्कर दिएपछि मोटरसाइकल दुर्घटना, पछाडि सवारको मृत्यु

कञ्चनपुर । बेदकोट नगरपालिका–६ सिसैयामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गमा आज बिहान करिब ८:१५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ३ प ५२७४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्नालाई ठक्कर दिएको थियो।

ठक्करबाट ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेदकोट नगरपालिका–९ का करिब ६० वर्षीय गौरसिंह महरा गम्भीर घाइते भएका थिए। उनलाई महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि टेक केयर अस्पताल पठाइएको थियो।

तर उपचारकै क्रममा बिहान करिब १०:४० बजे महराको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण र घटनाबारे थप अनुसन्धान भइरहेको छ।