विविध

दमकमा १३ वर्षीया बालिकालाई होटलमा पुर्‍याएर यौन शोषणमा लगाएको आरोप, दुई जना पक्राउ

झापा । दमकमा १३ वर्षीया बालिकालाई प्रलोभनमा पारेर होटलमा पुर्‍याई यौन शोषणमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९ देवीझोडा घर भई दमक क्षेत्रमा बस्दै आएकी जुनु भनिने पार्वती ऋषिका र दमक नगरपालिका–८ का ५५ वर्षीय गणेशप्रसाद अधिकारी रहेका छन्।

प्रहरीका अनुसार बालिका गत साउन ३१ गते घरबाट निस्किएपछि परिवारको सम्पर्कमा आएकी थिइनन्। त्यसपछि आफन्तले उनको खोजी गरिदिन इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए।

प्रहरीले खोजी गर्ने क्रममा भदौ ४ गते बालिकालाई फेला पारेको थियो। त्यसपछि गरिएको अनुसन्धानमा पार्वती ऋषिकाले बालिकालाई प्रलोभनमा पारी अधिकारीले सञ्चालन गरेको मनकामना होटल एन्ड लजमा पुर्‍याएको खुलेको प्रहरीको भनाइ छ।

उक्त होटलमा बालिकालाई यौन शोषणमा लगाइएको पाइएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई प्रहरीले भदौ ७ गते झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।