विविध

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले मृतककी कान्छी आमालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार शम्भुनाथ नगरपालिका–२ कन्कपट्टी घर भई हाल वडा नं. ३ ट्राफिक बजारमा बस्दै आएकी २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुनलाई घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको हो।

गत भदौ ७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ नगरपालिका–३ स्थित घर पछाडिको झाडीमा दुई वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन्। बालिकाकी आमा रुबिना खातुनले घटनाबारे प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले जास्मिन खातुनलाई पक्राउ गरी सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनले बालिकाको हत्या आफूले गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।

घटनापछि मृतककी आमाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्दा दर्ता गरिएको छ। पक्राउ परेकी जास्मिनलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतले भदौ ७ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ।

म्याद थपपछि प्रहरीले घटनाको कारण, हत्या कसरी भएको हो तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले अनुसन्धान पूरा भएपछि घटनाको विस्तृत तथ्य सार्वजनिक गर्ने बताएको छ।

प्रहरीले घटनामा संलग्नता पुष्टि गर्ने प्रमाण तथा अन्य आवश्यक तथ्य संकलन गर्ने काम जारी राखेको जनाएको छ।