विविध

स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको चौमतीबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका–१५, चौमतीस्थित भाडाको घरमा बस्दै आएका ५२ वर्षीय चिनियाँ नागरिक MA YAGUBI लाई नियन्त्रणमा लिइएको हो।

प्रहरी टोलीले उनको कोठामा खानतलासी गर्दा लागुऔषध भने फेला नपरेको जनाएको छ। तर, स्रोत नखुलेको नेपाली नगद ३१ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

खानतलासीका क्रममा उनको साथबाट पासपोर्ट, सुन काट्न प्रयोग हुने कैँची, ह्याम्मर, डिजिटल तराजु, क्यालकुलेटर, विभिन्न कम्पनीका चार थान मोबाइल तथा बैंकका चेकबुकसमेत बरामद गरिएको छ।

प्रहरीका अनुसार बरामद सामग्रीमा एनआईएमबी बैंकका दुई थान र एनआईसी एशिया बैंकको एक थान चेकबुक रहेका छन्।

पक्राउ परेका MA YAGUBI लाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ। बरामद रकमको स्रोत तथा अन्य सामग्रीको प्रयोगसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अभिलेखअनुसार उनी यसअघि पनि पटक–पटक नेपाल आएको र पछिल्लो पटक जुलाई २३, २०२६ मा नेपाल प्रवेश गरेको खुलेको प्रहरीले जनाएको छ। उनी हालसम्म ६ पटक नेपाल आएर फर्किएको विवरणसमेत भेटिएको छ।

प्रहरीले घटनासँग सम्बन्धित अन्य तथ्य तथा रकमको स्रोतबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।