काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि जिल्लाका विभिन्न जलविद्युत आयोजना तथा केन्द्रमा कार्यरत ठूलो संख्याका कर्मचारी र कामदार सम्पर्कविहीन भएका छन्।
प्राप्त विवरणअनुसार निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन छन्। चिलिमे जलविद्युत केन्द्रको पावर प्लान्ट तथा आवास क्षेत्र आसपास कार्यरत ७ जना पनि सम्पर्कबाहिर रहेको जनाइएको छ।
त्यस्तै, चिलिमे जलविद्युत कम्पनीअन्तर्गतको चेस्को कम्पनीमार्फत त्रिशूली–३ बी आयोजनामा कार्यरत थप ११ जना सम्पर्कविहीन छन्। रसुवागढी जलविद्युत केन्द्रमा कार्यरत ५१ जना सम्पर्कमा रहेको जानकारी प्राप्त भए पनि अन्य कर्मचारीको अवस्था अझै स्पष्ट हुन सकेको छैन।
त्रिशूली–३ ए जलविद्युत केन्द्रको पावर हाउसमा मर्मतसम्भारमा खटिएका ४५ जना कर्मचारी तथा कामदारसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
नेपाल विद्युत प्राधिकरणअन्तर्गत त्रिशूली जलविद्युत केन्द्र र देविघाट जलविद्युत केन्द्रमा कार्यरत एक–एक जना कर्मचारी पनि सम्पर्कबाहिर छन्।
यसैगरी, रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्वीचयार्डमा कार्यरत एक जना, गोटागन्तीका मिटर रिडर एक जना तथा अर्का एक जना कर्मचारी सम्पर्कबाहिर रहेको जनाइएको छ।
त्रिशूली २२० केभी ३ बी हबमा ठेकेदार कम्पनीको तर्फबाट कार्यरत १६ जना तथा रसुवागढी जलविद्युत केन्द्रमा विभिन्न ठेकेदार कम्पनीमार्फत मर्मत तथा निर्माण कार्यमा खटिएका थप २९ जना पनि सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।
यसरी उल्लेखित विवरणअनुसार विभिन्न आयोजना तथा केन्द्रमा कार्यरत १८० जना भन्दा बढी कर्मचारी तथा कामदारको अवस्था सम्पर्कविहीन रहेको देखिएको छ। यद्यपि यो प्रारम्भिक विवरण भएकाले संख्या तथा व्यक्तिहरूको अवस्थाबारे थप जानकारी आउन सक्नेछ।
बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध तथा आवतजावत कठिन बनेका कारण सम्पर्कविहीन कर्मचारीको खोजी तथा अवस्थाबारे यकिन गर्न चुनौती देखिएको छ। सम्बन्धित निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको छ।