रसुवा । रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेका थिए। प्रतिकूल मौसम र बाढीको तीव्र बहावबीच नेपाली सेनाले जोखिमपूर्ण उद्धार अभियान सञ्चालन गर्दै टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको सफलतापूर्वक उद्धार गरेको थियो।
उद्धार अभियानका क्रममा टनेलभित्र फसेका अन्य मानिसलाई समेत सुरक्षित बाहिर निकाल्ने प्रयास जारी रहेको थियो।
टनेलभित्रको जटिल तथा जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर, त्रिशुलीबाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को सैन्य टोली खटिएको थियो।
यसैगरी, बाढीको उच्च जोखिममा रहेका रसुवाका अन्य विकट क्षेत्रमा पनि नेपाली सेनाले उद्धार कार्य सञ्चालन गरेको थियो। सीक्यूआरटी धुन्चे ब्यारेक, रसुवाबाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको १/५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु तथा हाकुबेँसीका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो।
यसरी २०८३ भदौ ११ गते नेपाली सेनाले रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट कुल ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरेको जानकारी दिइएको थियो।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको थियो।








Add Comment