काठमाडौं । नेपालतर्फ आएको भीषण बाढी तथा त्यससँगै उत्पन्न प्राकृतिक विपत्तिमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्राकृतिक विपत्तिपछि नेपालमा रहेका आफ्ना नागरिकहरू सम्पर्कविहीन भएको जानकारी दिएका हुन्।
उनका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले बेपत्ता नागरिकको अवस्थाबारे नेपाली पक्षसँग समन्वय गर्दै विस्तृत विवरण संकलन तथा प्रमाणीकरण गरिरहेको छ।
चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको रिकाजे सहरस्थित केरुङ (जिरोङ) नाका तथा आसपासका क्षेत्रमा आएको प्राकृतिक विपत्तिले पनि प्रभाव पारेको बताइएको छ।
प्रवक्ता लिनले खोज तथा उद्धार कार्यका लागि नेपाल र चीनका सम्बन्धित अधिकारीबीच निरन्तर सम्पर्क तथा समन्वय भइरहेको बताएका छन्। नेपालको आवश्यकताअनुसार आपतकालीन सहयोग उपलब्ध गराउन चीन तयार रहेको उनको भनाइ छ।
चिनियाँ स्थानीय अधिकारीलाई उद्धृत गर्दै प्रभावित क्षेत्रमा हालसम्म कुल २६० जना विदेशी नागरिक सम्पर्कविहीन रहेको जानकारी पनि दिइएको छ। यद्यपि, भौगोलिक विकटता तथा प्रतिकूल परिस्थितिका कारण सम्पर्कविहीनहरूको यकिन विवरण प्राप्त हुन बाँकी रहेको र प्रमाणीकरणको कार्य जारी रहेको जनाइएको छ।
यसैबीच, नेपालस्थित चिनियाँ दूतावासले सुरक्षा सतर्कतासम्बन्धी सूचना जारी गर्दै नेपालमा रहेका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा रहन तथा सम्भावित प्राकृतिक जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
दूतावासले समस्यामा परेका आफ्ना नागरिकलाई आवश्यक परे दूतावाससँग सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।








Add Comment