विविध

तिब्बततर्फ थुनिएको नदीको ताल भरिएर पानी बग्न थाल्यो, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । परराष्ट्र मन्त्रालयबाट प्राप्त सूचनाअनुसार गत भदौ १० गते बाढी सिर्जना भएको क्षेत्रमा नदी थुनिएर बनेको ताल भरिएपछि पानी बग्न थालेको छ।

बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १ः०३ बजे सूचना जारी गर्दै त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

महाशाखाका अनुसार त्रिशुली नदी किनारका बासिन्दालाई मुग्लिनसम्मको तटीय क्षेत्रमा अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी आसपास तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन र आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

महाशाखाले नदीको अवस्था तथा पानीको बहावबारे निरन्तर निगरानी भइरहेको जनाएको छ।