नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा मानिसहरू फसेको आशंकामा नेपाली सेनाले आज पनि खोज तथा उद्धार प्रयासलाई तीव्र पारेको छ।
नेपाल सरकारको अनुमतिमा गत भदौ १३ गते चिनियाँ उद्धार टोली निजी हेलिकप्टरसहित नुवाकोटको त्रिशूली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी टोली माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा पुगेर अवस्थाको रेकी गरेको थियो।
सोही टोलीले त्यही दिन रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको क्षेत्रमा समेत रेकी गरेको जनाइएको छ। दुवै आयोजनाको अवस्थाबारे निरीक्षण गरेपछि चिनियाँ उद्धार टोलीले नेपाली सेनालाई स्थलगत जानकारी गराएको थियो।
भदौ १४ गते चिनियाँ उद्धार टोलीले मुख्य रूपमा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यमा ध्यान केन्द्रित गरेको थियो।
यता, सोही दिन माथिल्लो त्रिशूली–३ ‘बी’ क्षेत्रमा नेपाली सेनाको भैरवनाथ गणका १५ जना सैनिक तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोली खोज तथा उद्धार प्रयासमा जुटेको थियो।
आज बिहानदेखि थप सैनिक जनशक्ति परिचालन गरिएको छ। बिहान ९ बजेदेखि भैरवनाथ गणका थप १६ जना सैनिक सुरुङ क्षेत्रमा खन्ने तथा खोजी कार्यमा खटिएको जनाइएको छ।
उक्त सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएकाले नेपाली सेना र सम्बन्धित निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। उद्धार कार्यबाट थप विवरण आउन बाँकी रहेको छ।








Add Comment