उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवनको जंगलबाट प्रहरीले एक हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान करिब ४ बजे उक्त क्षेत्रमा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले जंगलमा खोजतलास गरेको थियो।
खोजतलासका क्रममा बा.१६ च ५२६९ नम्बरको बोलेरो गाडी तथा गाडी नजिकै जंगलका विभिन्न स्थानमा लुकाइछिपाई राखिएको ५२ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न आरोपमा उदयपुरको ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी अन्दाजी ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र अन्दाजी ४६ वर्षीय पृथ्वीराज मगर पक्राउ परेका छन्।
प्रहरीले गाँजा र बोलेरो गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।








Add Comment