समाचार

भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तहलाई साढे १३ करोड रुपैयाँ निकासा

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ।

सरकारले बाढी प्रभावित स्थानीय तहका लागि दुई चरणमा उक्त रकम निकासा गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पहिलो चरणमा भदौ १२ गते ६ करोड ५० लाख रुपैयाँ र दोस्रो चरणमा भदौ १६ गते थप ६ करोड ५० लाख रुपैयाँ निकासा गरिएको हो।

बाढी आएलगत्तै सरकारले रसुवा र नुवाकोटका लागि एक–एक करोड रुपैयाँ तथा धादिङका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।

रसुवामा उत्तरगया गाउँपालिकालाई १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकालाई २ करोड, कालिका गाउँपालिकालाई ६० लाख र आमाछोदिङ्मो गाउँपालिकालाई ४० लाख रुपैयाँ निकासा गरिएको छ।

त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकालाई ३ करोड, बेलकोटगढी नगरपालिकालाई १ करोड ७५ लाख, किस्पाङ गाउँपालिकालाई ५० लाख र तारकेश्वर गाउँपालिकालाई १ करोड रुपैयाँ उपलब्ध गराइएको छ।

धादिङको गल्छी गाउँपालिकाले ६० लाख रुपैयाँ पाएको छ भने सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिकालाई जनही ४० लाख रुपैयाँ निकासा गरिएको छ।

गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिकालाई पनि जनही ४० लाख रुपैयाँका दरले रकम उपलब्ध गराइएको छ।

यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जनाइएको छ।

उक्त रकममध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते १ करोड रुपैयाँ उपलब्ध गराइएको थियो। हाल कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको छ।

प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलरसमेत जम्मा भएको छ।