प्रहरी निरीक्षकलाई प्रधानमन्त्रीको स्पष्ट सन्देश : दबाब र प्रभावमा नपरी नागरिकको विश्वास जित्नू

प्रहरी निरीक्षकलाई प्रधानमन्त्रीको स्पष्ट सन्देश : दबाब र प्रभावमा नपरी नागरिकको विश्वास जित्नू

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि प्रकारको दबाब र प्रभावमा नपरी इमानदारी, निष्ठा र नैतिकताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्। उनले संगठनको मर्यादाविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन र नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

सोमबार काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १–१८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पेशागत सफलताको पहिलो आधार नैतिकता, निष्ठा र इमानदारी भएको बताएका हुन्।

१६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई तथा शुभकामना दिँदै उनले तालिममा हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे। प्रहरी सेवामा अनुशासन, पेशागत आचरण र जिम्मेवारीप्रतिको जवाफदेहिता उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

नेपाल प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा संकटका बेला नागरिकको जिउधनको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अनुचित प्रभावमा नपरी र कुनै पनि प्रकारको भेदभाव नगरी कर्तव्यमा अडिग रहनुपर्नेमा जोड दिए। प्रहरीको कामबाट आम नागरिकले सुरक्षा र न्यायको अनुभूति गर्न सक्नुपर्ने उनको भनाइ थियो।

दीक्षित प्रहरी निरीक्षकहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले व्यक्तिगत स्वार्थभन्दा संगठनको मर्यादा र जिम्मेवारीलाई प्राथमिकता दिन आग्रह गरे। प्रहरी अधिकृतहरूको असल कर्मले नै उनीहरूको भविष्य र संगठनप्रतिको नागरिकको विश्वास निर्माण हुने उनले बताए।

समयसँगै अपराधका स्वरूप र प्रवृत्ति परिवर्तन भइरहेकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सूचना प्रविधिको सही प्रयोग आवश्यक रहेको प्रधानमन्त्री शाहले उल्लेख गरे। अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमा आधारित अनुसन्धानका लागि प्रविधिको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए।

प्रविधिको प्रयोगले प्रहरीको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन सहयोग पुग्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। यसका लागि प्रहरी संगठनको नेतृत्व, प्रशिक्षक र समग्र संगठनको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

समारोहमा प्रहरी निरीक्षक आधारभूत तालिमको १–१८४औँ समूहका ७९ जना प्रशिक्षार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री शाहले दीक्षित प्रहरी अधिकृतहरूको व्यावसायिक सफलताको कामना गर्दै उनीहरूलाई चुनौतीपूर्ण प्रहरी सेवामा आबद्ध हुन प्रेरित गर्ने अभिभावक तथा परिवारजनप्रति आभार व्यक्त गरे।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply