‘हामीमाथि भरोसा राख्नुहोस्’ भन्दै प्रधानमन्त्री शाहको बाढी प्रभावित ज्येष्ठ नागरिकलाई सन्देश

‘हामीमाथि भरोसा राख्नुहोस्’ भन्दै प्रधानमन्त्री शाहको बाढी प्रभावित ज्येष्ठ नागरिकलाई सन्देश

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकप्रति सरकार गम्भीर रहेको बताउँदै कठिन परिस्थितिमा आफूहरूलाई एक्लो नठान्न आग्रह गरेका छन्। उनले बाढीपीडित ज्येष्ठ नागरिकलाई सरकारको साथ रहेको भन्दै भरोसा कायम राख्न आग्रह गरेका हुन्।

सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नुवाकोटको विदुर–१०, बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार हुनुले खोज तथा उद्धार अभियान अझै जारी रहेको सन्देश दिएको बताएका छन्। बाढी प्रभावित विभिन्न क्षेत्रबाट ज्येष्ठ नागरिकसहित अन्य नागरिकको समेत उद्धार भइरहेको उनले उल्लेख गरेका छन्।

बाढीका कारण घर, खेतबारी, पशुचौपाया र आफन्त गुमाउनुपरेका ज्येष्ठ नागरिकको पीडा सरकारलाई राम्रोसँग थाहा भएको प्रधानमन्त्री शाहको भनाइ छ। प्रभावितहरूलाई तत्काल राहत उपलब्ध गराउन अस्थायी शिविर तथा आश्रयस्थल सञ्चालन गरिएको र त्यहाँ स्वास्थ्य उपचारसहित आवश्यक सेवा प्रदान भइरहेको उनले बताएका छन्। शारीरिक उपचारसँगै पीडितको मानसिक अवस्था सुधारका लागि स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शको व्यवस्था पनि गरिएको उनले जानकारी दिएका छन्।

देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा क्षति पुगेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा सारिएको पनि प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार सात जनालाई काठमाडौंको म्हैपीस्थित ज्येष्ठ नागरिक हेरचाह केन्द्रमा राखिएको छ भने १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अस्थायी आश्रय दिइएको छ। उनीहरूको दैनिक जीवन सहज बनाउन ह्वीलचियर तथा हिँडडुलमा सहयोग पुग्ने सामग्रीसमेत उपलब्ध गराइएको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले अस्थायी आश्रयमा बस्नुपर्ने अवस्था लामो समय नरहने दाबी गर्दै प्रभावित ज्येष्ठ नागरिकका लागि सुरक्षित र स्थायी बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्। ज्येष्ठ नागरिकलाई समाज र राष्ट्रका महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै उनले संकटका बेला उनीहरूको अनुभव, सुझाव र मार्गदर्शन अझै आवश्यक रहेको बताएका छन्।

बाढी तथा पहिरोमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री शाहले आफन्त गुमाएका नागरिकको आक्रोशलाई उनीहरूले भोगेको पीडाको स्वाभाविक अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने बताएका छन्। पीडितको भावनामा थप चोट पुग्ने गरी अनावश्यक टिप्पणी गर्ने प्रवृत्तिप्रति सरकार संवेदनशील रहेको जनाउँदै उनले त्यस्ता कार्यप्रति कडाइ गरिने चेतावनी दिएका छन्।

उद्धार तथा राहत कार्यमा निरन्तर खटिरहेका सुरक्षाकर्मीप्रति सम्मान र धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा सरकार प्रभावित नागरिकसँगै रहेको दोहोर्‍याएका छन्। उनले ज्येष्ठ नागरिकलाई आश्वस्त पार्दै भनेका छन्— ‘हामीमाथि भरोसा राख्नुहोस्।’

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply