Home » Sample Page » विपत्तिमा खुशी व्यक्त गर्दै जातीय अपमानजनक भिडियो बनाएको आरोपमा २४ वर्षीय युवक पक्राउ
विविध

विपत्तिमा खुशी व्यक्त गर्दै जातीय अपमानजनक भिडियो बनाएको आरोपमा २४ वर्षीय युवक पक्राउ

काठमाडौं । भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गरी अपमानजनक तथा होच्याउने अभिव्यक्ति समेटिएको भिडियो सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी ठेगाना भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्दै आएका २४ वर्षीय बिरेन्द्र मडै रहेका छन्।

भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिसम्बन्धी विषयलाई लिएर विभिन्न जातजातिप्रति लक्षित गर्दै होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुशी व्यक्त गरेको देखिने भिडियो सामग्री तयार गरी फेसबुक रिल्समार्फत प्रसारण गरिएको सम्बन्धमा ब्यूरोले अनुसन्धान थालेको थियो।

प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त सामग्री मडैले प्रसारण गरेको खुलेपछि साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई भदौ २० गते पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मडैलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रहरीले सामाजिक सद्भाव तथा सामाजिक सहिष्णुतामा असर पार्ने किसिमका सामग्री सामाजिक सञ्जालमार्फत प्रसारण गर्दा कानुनी कारबाही हुन सक्ने जनाएको छ।