म्याग्दी । बेनी नगरपालिका–२, खबरा निवासी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्।
प्रहरीका अनुसार भदौ २२ गते बिहान करिब ११ः३० बजे मनकुमारीमाथि उनकी छोरीका छोरा २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरेका थिए। घटनापछि बरुवाल फरार भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरी फरार व्यक्तिको खोजी सुरु गरिएको थियो।
खोजीका क्रममा प्रहरीले बेनी नगरपालिका–२ स्थित हाडेभिर क्षेत्रमा भाग्दै गरेको अवस्थामा बरुवाललाई फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका बरुवालमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनासँग सम्बन्धित प्रमाण संकलन तथा अन्य आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।








Add Comment