Home » Sample Page » वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने आरोपमा पाँच जनाको गिरोह पक्राउ
विविध

वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने आरोपमा पाँच जनाको गिरोह पक्राउ

काठमाडौं । रामेछापमा वृद्ध दम्पतीलाई घरभित्रै बन्धक बनाएर गरगहना तथा नगद लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८३ साल भदौ १८ गते राति करिब १२ बजे रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलमा ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङ घरमा सुतिरहेका बेला नकाबधारी तीन जनाको समूहले ढोका फुटाएर घरभित्र प्रवेश गरेको थियो।

प्रहरीका अनुसार उनीहरूले वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँध्नुका साथै मुख र आँखामा पट्टी लगाएर ज्यान मार्ने धम्की दिँदै नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरूले वृद्ध दम्पतीले लगाएका गरगहना तथा घरमा राखिएको नगद लुटेर फरार भएका थिए।

घटनाबारे अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले डकैतीमा संलग्न रहेको आरोपमा पाँच जनालाई २०८३ साल भदौ २० गते भक्तपुर जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ। उनीहरूबाट डकैतीमा प्रयोग भएको भनिएका सवारी साधन तथा विभिन्न सामानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर रहेका छन्। काठमाडौंको निजी विद्यालयमा सवारी चालकका रूपमा काम गर्ने मगरको साथबाट नगद २५ हजार रुपैयाँ, Redmi मोबाइल र बा.७३ प ८७१२ नम्बरको रातो–कालो २२० सीसीको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दिर्घराज मोक्तान पक्राउ परेका छन्। बसका सहचालकका रूपमा काम गर्ने मोक्तानको साथबाट ५२ हजार २ सय रुपैयाँ, नेपाली नागरिकता, राहदानी, NMB बैंकको चेक, Global IME Bank को राजस्व तिरेको बिल तथा घटनामा प्रयोग भएको भनिएको ज्याकेट र हाफ पाइन्ट बरामद गरिएको प्रहरीले जनाएको छ।

खाँडादेवी–२ मझुवाका ३३ वर्षीय पशुपति श्रेष्ठ पनि पक्राउ परेका छन्। काठमाडौंमा मोटरसाइकलमार्फत इन्ड्राइभ गर्ने श्रेष्ठको साथबाट बा.७२ प ५५८ नम्बरको मोटरसाइकल, ६ हजार ४ सय ६० रुपैयाँ, मोबाइल, बैंक खातामा रहेको रकमसम्बन्धी विवरण, सहकारीको बचत पुस्तिका, चार्जर, नागरिकता, बुद्धचित्तका २२ वटा दाना, ढलौटको पानस तथा टुकी २ थान, पुराना सिक्का ५ थान र सुनजस्तो पहेँलो धातुको औँठी बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर गहतराज पक्राउ परेका छन्। भक्तपुरमा सुनचाँदी व्यवसाय गर्दै आएका गहतराजको साथबाट एक थान मोबाइल बरामद गरिएको छ।

धनकुटाको बेलाहारा नगरपालिका–५ का ३८ वर्षीय दिपक भन्ने गुणराज विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट सुनजस्तो पहेँलो धातुका दुईवटा रिङ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूको समूह अन्य चोरीका घटनामा समेत संलग्न रहेको खुलेको जनाएको छ। पशुपति श्रेष्ठको समूहले रामेछापको खाँडादेवी गाउँपालिका–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

त्यस्तै, २०८३ साल असार १ गते राति खाँडादेवी गाउँपालिका–३ की सुन्दरी श्रेष्ठको करिब २८/३० किलो तौलको खसी चोरी भएको तथा भदौ ७ गते सोही वडाको भिरपानीमा रामबहादुर श्रेष्ठको गोठबाट करिब १५ किलोको बोका चोरी भएको घटनामा समेत पशुपति श्रेष्ठको समूहको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको Criminal Record System (CRS) जाँच गर्दा पशुपति श्रेष्ठविरुद्ध यसअघि प्रहरी वृत्त कालीमाटीबाट डाँका तथा चोरीसम्बन्धी मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ। दिर्घराज मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापबाट अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको तथा दिपक भन्ने गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्ध, काठमाडौंमा जुवासम्बन्धी कसूरको मुद्दा चलेको अभिलेख भेटिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।