काठमाडौं । बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। भदौ २७ गते बिहान ६ः४० बजेसम्मको विवरणअनुसार बागमती र कर्णाली प्रदेशका केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण यातायात सञ्चालनमा समयअनुसार प्रतिबन्ध लगाइएको छ। भदौ १६ गतेदेखि अर्को सूचना नभएसम्म १० टनसम्मका मालवाहक सवारीसाधन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न सकिने व्यवस्था छ। अन्य सवारीसाधन भने परिस्थितिको मूल्यांकन गरी बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
रसुवामा बाढीका कारण उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, भदौ १० गतेदेखि बाढीका कारण मुख्य राजमार्गमा समेत लामो समयसम्म रहने गरी पूर्ण अवरोध रहेको विवरणमा उल्लेख छ।
नुवाकोटमा शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यस्तै, बाढीका कारण वेत्रावती नगरपालिका–१० सिमटार क्षेत्रमा पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ।
धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर क्षेत्रमा पहिरोका कारण सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा भने पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।
त्यसैगरी, बेनीघाट रोराङ गाउँपालिका क्षेत्रकै शीतलबजारमा सडक मर्मतका कारण प्रभावित भएको पृथ्वी लोकमार्गमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
सिन्धुपाल्चोकमा भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यता कर्णाली प्रदेशको कालिकोटमा पनि पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। शुभकालिका गाउँपालिका–१ गगने खोलामा भदौ २६ गते साँझ ६ः३० बजेदेखि कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द रहेको विवरणमा उल्लेख छ।
बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले अवरुद्ध सडकखण्डमा यात्रा गर्दा सम्बन्धित निकायको सूचना तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्नुपर्ने देखिएको छ।








Add Comment