Home » Sample Page » दैलेखमा ‘MADE IN CZECHOSLOVAKIA’ लेखिएको पेस्तोलसहित दुई जना पक्राउ
विविध

दैलेखमा ‘MADE IN CZECHOSLOVAKIA’ लेखिएको पेस्तोलसहित दुई जना पक्राउ

दैलेख — दैलेखमा ‘MADE IN CZECHOSLOVAKIA’ लेखिएको पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।

अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा रहेका आठबीस नगरपालिका निवासी भिमबहादुर शाही र भुपेन्द्र शाहीलाई सोधपुछ गर्ने क्रममा भुपेन्द्र शाहीले राकम कर्णालीको खोलीबजार नजिकै खोल्सामा पेस्तोल लुकाएर राखेको बताएका थिए।

उनले दिएको बयानका आधारमा प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय इलाका प्रहरी कार्यालय राकम दैलेखसँग समन्वय गरी उक्त स्थानमा खोजतलास गरेको थियो।

खोजीका क्रममा खोलीबजार नजिकै खोल्साको झाडीमा कालो प्लास्टिकले पोको पारेर लुकाइराखेको अवस्थामा स्वचालित हतियार फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त पोको खोलेर हेर्दा ‘MADE IN CZECHOSLOVAKIA’ लेखिएको र 105028 नम्बर उल्लेख भएको पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र ५ राउण्ड गोली बरामद भएको हो।

बरामद हतियारसहित पक्राउ परेका दुवै जनामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।