Home » Sample Page » इटहरीमा डिभाइडरमा ठोक्कियो मोटरसाइकल, चालकसहित दुई जनाको मृत्यु
विविध

इटहरीमा डिभाइडरमा ठोक्कियो मोटरसाइकल, चालकसहित दुई जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान मोटरसाइकल डिभाइडरमा ठोक्किँदा उनीहरूको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल बिहान करिब २ः५० बजे सडकको डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

घटनाको सूचना पाएपछि बालग्राम प्रहरी चौकी, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइते दुवैलाई तत्काल उद्धार गरी बिहान ३ः२३ बजे उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित घोपा पठाइएको थियो ।

उपचारका क्रममा मोटरसाइकल चालक इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापाको बिहान ५ः११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३४ वर्षीय सागर रेग्मीको पनि उपचारकै क्रममा बिहान ४ः५२ बजे मृत्यु भएको हो । रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।