काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोहाबाट आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
कतारको दोहा हुँदै कतार एयरलाइन्समार्फत काठमाडौं आएका यात्रुसँग सम्बन्धित व्यक्तिहरूमाथि निगरानी गर्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रमा बारा पचरौता नगरपालिका–१ पिपरपाटी बस्ने अन्दाजी ३३ वर्षीय अनिस अन्सारीको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका गरगहना ७९.६ ग्राम बरामद भएको छ।
त्यस्तै, दोहाबाट काठमाडौं आएका भारतका ४२ वर्षीय MOHAMMED CHERA THODI को गतिविधि शंकास्पद देखिएपछि उनलाई विमानस्थलको बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो।
जाँचका क्रममा उनको साथबाट भन्सार छली गरी ल्याएको भनिएको सुनजस्तो देखिने पहेँलो पदार्थ ५३६ ग्राम फेला परेको प्रहरीले जनाएको छ।
दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ। बरामद पदार्थ सुन नै हो वा होइन भन्ने विषयमा आवश्यक परीक्षण तथा अनुसन्धानपछि थप विवरण खुल्नेछ।