काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा भइरहेको र आगामी असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै सम्भावित बाढी, पहिरो, नदी कटान तथा अन्य विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सरकारले पूर्वतयारी तीव्र बनाएको जानकारी दिएका छन्।
उनका अनुसार पछिल्लो २४ घण्टामा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा मातहतका निकायले आवश्यक निर्देशन, सार्वजनिक सूचना र नागरिक अपिल जारी गर्दै सम्भावित विपद्को सामना गर्न तयारी बढाएका छन्।
७७ जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा
सम्भावित जोखिमलाई ध्यानमा राख्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको शाहले बताएका छन्।
तीनवटै सुरक्षा निकायले नदी तथा तटीय क्षेत्रमा माइकिङ गरेर स्थानीयलाई सचेत गराउने र आवश्यक परे विपद् प्रतिकार्यमा परिचालन हुने तयारी गरेका छन्।
प्रधानमन्त्री शाहले रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न र अनावश्यक लामो दूरीको यात्रा नगरी सुरक्षित स्थानमा रहन पनि आग्रह गरेका छन्।
सडकमा ‘रोक, पर्ख र हेर’ नीति
जोखिमयुक्त सडकखण्डमा राति सवारी सञ्चालन नगर्न निर्देशन दिइएको छ। राजमार्गका सुरक्षा जाँच चौकीहरूले अघिल्लो चेकपोइन्टसँग समन्वय गरी सडक सुरक्षित रहेको सुनिश्चित भएपछि मात्र सवारी अघि बढाउने ‘रोक, पर्ख र हेर’ (Stop, Hold and Go) नीति लागू गरिएको जनाइएको छ।
बाढी, पहिरो तथा नदी कटानबाट सडक अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै एक्स्काभेटर, लोडर र डोजरलगायत भारी उपकरण जोखिमयुक्त सडकखण्ड नजिकै तयारी अवस्थामा राखिएको छ।
सडक डिभिजन कार्यालयलाई चौबिसै घण्टा सक्रिय रहन तथा सडक खुला वा अवरुद्ध रहेको अवस्थाबारे नियमित सूचना सार्वजनिक गर्न निर्देशन दिइएको छ।
पर्यटकलाई सुरक्षित स्थानमा सार्ने तयारी
हिमाली तथा पहाडी क्षेत्रमा ट्रेकिङ र पर्वतारोहणमा रहेका आन्तरिक तथा विदेशी पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न सम्बन्धित व्यवसायीसँग समन्वय गर्न भनिएको छ।
होटल व्यवसायी र स्थानीय बासिन्दालाई समेत आवश्यक अवस्थामा सुरक्षित बासस्थान र सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ। मौसमको अवस्था हेरेर आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न तथा उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।
विद्यालयदेखि अस्पतालसम्म सतर्कता
सबै ७५३ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक पूर्वतयारी गर्न भनिएको छ। जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न तथा प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन निर्देशन दिइएको छ।
सार्वजनिक बिदाको समयमा पनि राष्ट्रसेवक कर्मचारीलाई आफू सुरक्षित रहँदै सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ।
विद्यालयमा विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राखी स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार असोज ९ गते पठनपाठन सञ्चालन नगर्न सकिने व्यवस्था गरिएको छ। सो अवधिमा तोकिएका परीक्षासमेत सम्बन्धित विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायले आवश्यकताअनुसार स्थगित गर्न सक्ने जनाइएको छ।
प्रधानमन्त्री शाहले अभिभावकलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन विशेष आग्रह गरेका छन्।
अस्पताल तथा स्वास्थ्य चौकीलाई आवश्यक जनशक्ति र औषधि–सामग्रीसहित तयारी अवस्थामा राखिएको छ। स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई पनि सक्रिय अवस्थामा राखिएको जनाइएको छ।
खाद्यान्न र दूरसञ्चार सेवामा पनि तयारी
सम्भावित सडक अवरोधलाई ध्यानमा राख्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदाममा आवश्यक खाद्यान्न मौज्दात कायम गर्न निर्देशन दिइएको छ। राजमार्ग अवरुद्ध भए वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तु ढुवानी गर्ने तयारी गरिएको छ।
मौसमको अवस्थालाई देखाएर कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अनुचित मूल्य बढाउनेमाथि कडा कारबाही गर्न बजार अनुगमन तीव्र बनाउन निर्देशन दिइएको शाहले बताएका छन्।
त्यस्तै, देशभर नागरिकलाई SMS Alert पठाइएको छ। स्थानीय सञ्चारमाध्यममार्फत मौसमसम्बन्धी नियमित जानकारी तथा सावधानीका उपाय प्रसारण गर्न पनि निर्देशन दिइएको छ। दूरसञ्चार सेवा अवरुद्ध भए तत्काल सञ्चालन गर्न आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको छ।
प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनालाई आधार बनाएर सचेत रहन नागरिकलाई आग्रह गरेका छन्।
आपत्कालीन अवस्थामा हेलो सरकार ११११ वा ९८५११४५०४५, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४ र स्वास्थ्य हेल्पलाइन १११५ मा सम्पर्क गर्न सकिनेछ। मौसम पूर्वानुमानका लागि ११५५ मा फोन गर्न सकिने जनाइएको छ।
प्रधानमन्त्री शाहले अन्त्यमा नागरिकलाई सावधान र सुरक्षित रहन आग्रह गरेका छन्।