गुटेरेससँग बालेनको भेट, भोटेकोशीदेखि नेपालको LDC स्तरोन्नतिसम्म के भयो कुरा ?

गुटेरेससँग बालेनको भेट, भोटेकोशीदेखि नेपालको LDC स्तरोन्नतिसम्म के भयो कुरा ?

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन पुगेका शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघको मुख्यालयमा गुटेरेससँग भेट गरेका हुन्।

स्थानीय समयअनुसार बिहीबार साँझ ६ः३० बजे भएको भेट नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे भएको हो।

भेटमा गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँगै रहेको बताएका थिए। उनले नेपाली प्रतिनिधिमण्डलमा सहभागी युवाहरूको पनि प्रशंसा गरेका थिए।

नेपालको आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको बताएका थिए। राष्ट्रसंघको महासचिव पदबाट बाहिरिएपछि पनि नेपाललाई सहयोग र समर्थन जारी राख्ने प्रतिबद्धता उनले व्यक्त गरेको जनाइएको छ।

प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै उनको कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

भेटमा प्रधानमन्त्री शाहले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुटेर आउने बाढीको जोखिम अझै कायम रहेको विषय उठाएका थिए। जलवायु परिवर्तनसँग जोडिएका यस्ता जोखिममा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेकोतर्फ पनि ध्यानाकर्षण गराइएको थियो।

वार्ताका क्रममा नदी किनारमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तथा विपद्पछि वातावरणमैत्री ढंगले पुनर्निर्माण अघि बढाउने विषयमा पनि छलफल भएको थियो।

यसैगरी, नेपाल अतिकम विकसित राष्ट्र (LDC) को सूचीबाट स्तरोन्नति हुने प्रक्रियाको समयसीमा थप गर्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply