वायुसेना अड्डानजिक पाँच जना पक्राउ, घटनाको पछाडि कसको हात ? बेलायतले दियो यस्तो संकेत

वायुसेना अड्डानजिक पाँच जना पक्राउ, घटनाको पछाडि कसको हात ? बेलायतले दियो यस्तो संकेत

काठमाडौँ । बेलायतको रोयल एयर फोर्स (RAF) फेयरफोर्ड अड्डानजिक भएको संदिग्ध घटनामा इरानको भूमिका रहेको बलियो संकेत देखिएको बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले बताएका छन्।

दक्षिण–पश्चिम इंग्ल्यान्डको ग्लुस्टरशायरस्थित फेयरफोर्ड अड्डानजिकै पाँच बेलायती नागरिक पक्राउ परेपछि बेलायतको आतंकवादविरोधी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। पक्राउ परेका पाँचै जना २० वर्ष आसपासका बेलायती नागरिक रहेको र उनीहरू लन्डनबाट आएको प्रहरीले जनाएको छ।

घटना गत आइतबार फेयरफोर्ड अड्डानजिकैको विलफोर्ड क्षेत्रमा भएको थियो। संदिग्ध गतिविधिबारे सूचना पाएपछि प्रहरी पुगेको थियो। तीनवटा सवारीसाधनमाथि अनुसन्धानका क्रममा पाँच जनालाई विस्फोटकसम्बन्धी अपराध तथा आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा पक्राउ गरिएको थियो।

सवारीसाधनको विस्तृत जाँच गर्दा विस्फोटक पदार्थ भने फेला नपरेको प्रहरीले जनाएको छ। तर केही मात्रामा पेट्रोल भेटिएको थियो। घटनापछि आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

पक्राउ परेका पाँचै जनालाई पछि कडा सर्तसहित प्रहरी जमानतमा रिहा गरिएको छ। उनीहरू रिहा भए पनि अनुसन्धान भने जारी रहेको बेलायती अधिकारीहरूले स्पष्ट पारेका छन्। उनीहरूको आवतजावत र अन्य व्यक्तिसँगको सम्पर्कमा कडा सर्त लगाइएको बताइएको छ।

पक्राउपछि उनीहरूलाई जमानतमा रिहा गरिएको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित केही अमेरिकी अधिकारीहरूले प्रश्न उठाएका थिए। तर बर्नहमले यो सामान्य रिहाइ नभएको र कडा निगरानी तथा सर्तअन्तर्गत उनीहरूलाई जमानतमा छाडिएको बताएका छन्।

घटनाबारे सोमबार बर्नहमले ‘कोब्रा’ अर्थात् आपत्कालीन सरकारी बैठकको अध्यक्षता गरेका थिए। त्यसपछि उनले घटनामा विदेशी पक्षको संलग्नतासहित विभिन्न सम्भावनाबारे अनुसन्धान भइरहेको बताएका थिए। बुधबार भने उनले इरानको भूमिका रहेको ‘बलियो संकेत’ देखिएको सार्वजनिक रूपमा बताएका हुन्।

यद्यपि इरानले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। लन्डनस्थित इरानी दूतावासले इरानलाई घटनासँग जोड्ने प्रयासलाई अस्वीकार गर्दै आरोपलाई आलोचना गरेको छ। त्यसैले घटनामा इरानको वास्तविक भूमिका के थियो भन्ने विषय अझै बेलायती अनुसन्धानकै क्रममा रहेको छ।

यसबीच, पक्राउ परेकामध्ये एक जनाले घटनाभन्दा केही समयअघि नै प्रहरीसँग सम्पर्क गरेको विवरणसमेत सार्वजनिक भएको छ। यसले घटना कसरी सुरु भयो र पक्राउ परेका व्यक्तिहरूको वास्तविक उद्देश्य के थियो भन्ने विषयमा थप प्रश्न उठाएको छ।

फेयरफोर्ड अड्डा पछिल्ला महिनामा अमेरिकी सैन्य गतिविधिसँग जोडिएको महत्वपूर्ण स्थानका रूपमा रहेको छ। अमेरिकी सेनाले त्यहाँबाट इरानविरुद्धका सैन्य कारबाही सञ्चालन गरेको बताइएको छ। यही कारण घटनालाई बेलायती सुरक्षा निकायले संवेदनशील रूपमा लिएको छ।

अनुसन्धान जारी रहेकाले पक्राउ परेका पाँच जनाको उद्देश्य, उनीहरूले प्रयोग गरेका सवारीसाधन र सम्भावित विदेशी सम्पर्कबारे थप तथ्य खुल्न बाँकी छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply