काठमाडौं । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। शुक्रबार राति गएको भूकम्पपछि मध्य तथा दक्षिण अमेरिकाका नौ देशमा सुनामीको सम्भावित जोखिमबारे चेतावनी जारी गरिएको थियो।
अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प पानामाको दक्षिणी तटीय क्षेत्रनजिक गएको थियो। यसको केन्द्रविन्दु राजधानी पानामा सिटीबाट करिब २०० किलोमिटर टाढा रहेको क्षेत्रमा थियो। भूकम्पपछि विभिन्न स्थानमा मानिसहरू भवनबाट बाहिर निस्किएका थिए।
पानामास्थित अमेरिकी दूतावासले भूकम्पपछि शक्तिशाली परकम्प आउन सक्ने चेतावनी दिँदै प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको थियो। दूतावासले क्षतिग्रस्त भवनबाट टाढा रहन, स्थानीय आपत्कालीन सूचनाहरू सुन्न र सरकारी निकायले जारी गरेका निर्देशन पालना गर्न पनि अनुरोध गरेको थियो।
सुनामीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोस्टारिका, एल साल्भाडोर, पेरु, मेक्सिको, ग्वाटेमाला, पानामा, निकारागुआ, कोलम्बिया र इक्वेडरका तटीय क्षेत्रमा चेतावनी जारी गरिएको थियो। तटीय क्षेत्रमा असामान्य समुद्री बहाव र अप्रत्याशित रूपमा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको थियो।
भूकम्पपछि पानामाका केही क्षेत्रमा भवनमा क्षति पुगेको र विद्युत् सेवामा अवरोध आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रारम्भिक विवरणअनुसार ठूलो जनधनको क्षतिको पुष्टि भएको थिएन। भूकम्पपछि लगातार परकम्पसमेत महसुस गरिएको थियो।
यसैबीच, पछिल्ला अद्यावधिक विवरणअनुसार प्रारम्भिक सुनामी चेतावनीहरू पछि हटाइएको छ। त्यसैले प्रभावित क्षेत्रका नागरिकलाई सम्बन्धित स्थानीय निकायका पछिल्ला सूचनालाई आधार मानेर सतर्क रहन आग्रह गरिएको छ।