पेरिस । शिक्षकको अभाव, कमजोर शैक्षिक पूर्वाधार र सरकारी खर्च कटौतीको विरोधमा फ्रान्समा जारी विद्यार्थी आन्दोलन थप चर्किएको छ। सरकारले ३ हजार शिक्षक परिचालन गर्ने घोषणा गरे पनि विद्यार्थी संगठनहरूले आन्दोलन जारी राख्ने बताएका छन्।
शुक्रबारसम्म देशभर १४१ विद्यालय बन्द रहेको शिक्षा मन्त्रालयको विवरण उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विद्यालयबाट सुरु भएको आन्दोलन अहिले विश्वविद्यालयसम्म फैलिएको छ। पेरिसका प्रतिष्ठित विश्वविद्यालयका विद्यार्थीसमेत आन्दोलनमा सहभागी हुन थालेका छन्।
विद्यार्थी तथा शिक्षक संगठनहरूले आगामी मंगलबार पनि देशव्यापी विद्यालय हडताल गर्ने घोषणा गरेका छन्। उनीहरूले सार्वजनिक शिक्षा प्रणालीमा देखिएको शिक्षक अभाव, कक्षाकोठाको कमजोर अवस्था र शिक्षामा पर्याप्त लगानी नभएको विषय उठाउँदै आएका छन्। उनीहरूका अनुसार सरकारी खर्च कटौतीले शैक्षिक समस्या थप गम्भीर बनाएको छ।
फ्रान्सका शिक्षामन्त्री एडुआर गेफ्रेले आवश्यकताअनुसार शिक्षक अभाव झेलिरहेका विद्यालयमा ३ हजार योग्य शिक्षक परिचालन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्। विशेषगरी कम आय भएका समुदायका विद्यालयमा शिक्षकको आवश्यकता बढी रहेको उनको भनाइ छ। आन्दोलनका क्रममा अहिलेसम्म १०० भन्दा बढी शिक्षक तथा शैक्षिक कर्मचारी घाइते भएको पनि उनले बताएका छन्।
सरकारको घोषणालाई विद्यार्थी संगठनहरूले आन्दोलनबाट प्राप्त पहिलो उपलब्धिका रूपमा लिएका छन्। यद्यपि, उनीहरूले शिक्षक परिचालनको घोषणा मात्रै पर्याप्त नहुने भन्दै शैक्षिक प्रणालीमा सुधारका माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने बताएका छन्।
आन्दोलनका कारण पेरिसका प्रतिष्ठित शैक्षिक संस्थासमेत प्रभावित भएका छन्। शुक्रबार बिहान असास विश्वविद्यालयमा लगाइएको अवरोध प्रहरीले हटाएको थियो भने इन्जिनियरिङ शिक्षाका लागि चर्चित मिन पेरिसमा पनि अवरोध भएको थियो। क्याम्पसमा अवरोध भएपछि क्याथोलिक इन्स्टिच्युटले अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।
फ्रान्सको सार्वजनिक माध्यमिक शिक्षामा झन्डै १० प्रतिशत अध्यापन घण्टाका लागि शिक्षक उपलब्ध नभएको शिक्षा मन्त्रालयको तथ्यांकले देखाएको छ। शिक्षक अभाव र विद्यालयको अवस्थाप्रति असन्तुष्टि बढेपछि आर्थिक रूपमा सम्पन्न परिवारका केही अभिभावकले आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयबाट निजी विद्यालयमा सार्न थालेका छन्। यसले शिक्षामा विद्यमान सामाजिक असमानता थप बढाउन सक्ने चिन्ता व्यक्त गरिएको छ।
राष्ट्रपति इमानुएल म्याक्रों नेतृत्वको सरकारले शिक्षामा थप लगानी गर्नुपर्ने माग र बढ्दो सार्वजनिक ऋण नियन्त्रण गर्नुपर्ने दबाबबीच सन्तुलन मिलाउनुपर्ने चुनौती सामना गरिरहेको छ। सरकारको आगामी कदमलाई लगानीकर्ताले समेत नजिकबाट नियालिरहेका छन्।
यसैबीच, फ्रान्समा जारी आन्दोलनको प्रभाव छिमेकी बेल्जियममा पनि देखिएको छ। शुक्रबार बेल्जियममा श्रमिक संगठनहरूले गरेको देशव्यापी हडतालमा विद्यार्थीसमेत सहभागी भएका थिए। राजधानी ब्रसेल्समा भएको प्रदर्शनका क्रममा केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। प्रहरीले केही स्थानमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको समाचारमा उल्लेख छ।