काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज सोमबार नवदुर्गामध्येकी दोस्रो स्वरूप माता ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल द्वितीयाका दिन दसैँघर तथा पूजा कोठामा देवीको आह्वान गरी श्रद्धा र भक्तिपूर्वक पूजा गर्ने धार्मिक परम्परा छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राख्नुका साथै माता शैलपुत्रीको पूजा गरिएको थियो। दोस्रो दिन माता ब्रह्मचारिणीको आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवी तपस्या, त्याग, संयम, धैर्य र दृढ सङ्कल्पकी प्रतीक हुन्। उनको पूजा गर्नाले जीवनमा आत्मबल, ज्ञान र साधनाप्रति समर्पण बढ्ने विश्वास गरिन्छ।
पौराणिक कथाअनुसार माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। उनको यही तपस्वी स्वरूपलाई ब्रह्मचारिणीका रूपमा पूजा गरिन्छ। देवीको दाहिने हातमा जपमाला र बायाँ हातमा कमण्डलु रहेको स्वरूपले साधना, पवित्रता र आत्मसंयमको सन्देश दिने धार्मिक व्याख्या छ।
आजका दिन भक्तजनले बिहान स्नान गरी पूजा स्थल सफा गरेर माता ब्रह्मचारिणीको आह्वान गर्ने, फूल, अक्षता, चन्दन, फलफूल तथा प्रसाद चढाउने परम्परा छ। विभिन्न स्थानमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवीका स्तोत्र पाठ गरी पूजा आराधना गरिन्छ।
नवरात्रका अवसरमा देवीको पूजा गर्नाले शक्ति, ऐश्वर्य, विद्या र सुख प्राप्त हुने धार्मिक विश्वास छ। यही मान्यताका आधारमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनले पूजा आराधना र दर्शन गर्ने गर्छन्। नवरात्रका नौ दिन माता दुर्गाका नौ स्वरूपको क्रमशः पूजा गरी दसैँलाई श्रद्धा, आस्था र भक्तिका साथ मनाउने परम्परा रहिआएको छ।