काठमाडौं । चीनको तिब्बतस्थित नाग्चु क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार बिहीबार राति स्थानीय समयअनुसार १०ः३३ बजे बाछेन काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको हो। प्रारम्भिक विवरणअनुसार भूकम्पमा ३२ जना घाइते भएका छन्, जसमध्ये ११ जनाको अवस्था गम्भीर छ। घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।
भूकम्पका कारण प्रभावित क्षेत्रमा ३३९ घर भत्किएका छन्। विद्युत् तथा सञ्चार सेवासमेत प्रभावित भएका छन्। उद्धार तथा राहत कार्यका लागि सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरिएको छ।
भूकम्पपछि पहाडबाट ढुंगा खस्दा केही सडक अवरुद्ध भएका छन्। यसले दुर्गम तथा उच्च हिमाली क्षेत्रमा उद्धार टोली पुग्न कठिन बनाएको छ। तिब्बतका छाम्दो र न्यिङ्ची क्षेत्रमा समेत शक्तिशाली धक्का महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
नाग्चु क्षेत्र तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा पर्छ। उच्च हिमाली भूभागमा रहेको यस क्षेत्रमा भौगोलिक कठिनाइका कारण उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको छ।
भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको र क्षतिको विवरण अद्यावधिक गर्ने काम भइरहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।