काठमाडौँ । नेपाली चलचित्र ‘पाँच पाण्डव’को नयाँ गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरू’ सार्वजनिक भएको छ। हरिवंश आचार्य र इभा गिरीलगायत कलाकारको अभिनय रहेको चलचित्रको प्रचारप्रसारलाई तीव्र बनाउँदै निर्माण पक्षले गीत सार्वजनिक गरेको हो।
सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर रहेको गीतमा डा. कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ। गीतले दाजुभाइबीचको सम्बन्ध, आत्मीयता र पारिवारिक भावनालाई प्रस्तुत गरेको छ।
बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा छन्। चलचित्रमा उनीहरू क्रमशः युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवको भूमिकामा देखिनेछन्। अभिनेत्री इभा गिरी द्रौपदीको भूमिकामा प्रस्तुत भएकी छन्।
त्यस्तै, चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र सीता न्यौपानेलगायत कलाकारको पनि अभिनय रहेको छ।
महाभारतका पाँच पाण्डवका पात्र र प्रतीकलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्न खोजिएको चलचित्रले पारिवारिक सम्बन्ध, सामाजिक अवस्था र राजनीतिक परिवेशका विषयलाई समेटेको छ। चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्।
कालीरानी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता कालीरानी श्रेष्ठ हुन्। छायांकन श्याम तामाङले गरेका छन् भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ। चलचित्रको देशव्यापी वितरण आरआर फिल्म्सले गर्नेछ।
‘पाँच पाण्डव’ आगामी कात्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा छ।