तामाङ समुदायको इतिहास र पहिचान बोकेको ‘पेङ दोर्जेको डम्फु’ गीत सार्वजनिक

तामाङ समुदायको इतिहास र पहिचान बोकेको ‘पेङ दोर्जेको डम्फु’ गीत सार्वजनिक

काठमाडौँ  । तामाङ समुदायको इतिहास, संस्कृति र पहिचानलाई समेटेर तयार पारिएको नयाँ गीत ‘पेङ दोर्जेको डम्फु’ सार्वजनिक भएको छ। गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको स्वर तथा संगीत रहेको गीतको म्युजिक भिडियो आज सार्वजनिक गरिएको हो।

पेङ दोर्जे र परम्परागत डम्फुको उत्पत्तिसँग जोडिएको कथालाई आधार बनाएर तयार गरिएको गीतले तामाङ समुदायको मौलिक संस्कृति, परम्परा, प्रेम र पुर्खाको विरासतलाई उजागर गर्ने प्रयास गरेको छ।

तामाङ समुदायका लागि डम्फु केवल एउटा बाजा मात्र नभई पुर्खाको सम्झना, परम्परागत गीत, नृत्य, चाडपर्व र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा हो। यही सांस्कृतिक महत्वलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले गीत तथा भिडियो निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।

प्रकाश तामाङ तितुङका अनुसार यो परियोजना एउटा गीतमा मात्र सीमित छैन। आफ्नै इतिहास, संस्कृति र पहिचानलाई संगीतमार्फत प्रस्तुत गर्ने सपना, मेहनत र समर्पणको परिणामका रूपमा यसलाई लिइएको छ। पुर्खाले सिर्जना गरेको परम्परागत कलाको संरक्षण गर्दै आगामी पुस्तासम्म पुर्‍याउने प्रयाससमेत यसमा गरिएको उनले बताएका छन्।

गीतमा प्रकाश तामाङ तितुङ र सुमिना लोको स्वर रहेको छ। कुमार स्याङ्बाले शब्द रचना गरेका छन् भने संगीत प्रकाश तामाङ तितुङकै रहेको छ। महाराज थापाले संगीत संयोजन गरेका छन् भने सञ्जीव बराइलीले क्रिएटिभ एरेन्ज गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ नरेश बीबीसीले गरेका हुन्।

म्युजिक भिडियोमा एलिसा राई, अमिर डोङ तामाङ, भिमफेदी गाइज र कुइसाङ रुम्बाको अभिनय रहेको छ। पवन सुस्लिङले छायांकन तथा दृश्य सम्पादन, कलर र भिएफएक्सको जिम्मेवारी सम्हालेका छन्। भिडियोको कोरियोग्राफी भिमफेदी गाइजले गरेका छन् भने निर्देशन निर्मल कुमार लामा (बीजी) ले गरेका हुन्।

‘सम्झना र आशीर्वाद’ स्वर्गीय आपा बुद्ध रत्न लामा र आमा फूलमाया लामाको नाममा समर्पित यस गीतले तामाङ समुदायलाई आफ्नो मौलिक कला, संस्कृति र पहिचानप्रति गर्व गर्न तथा परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply