डीडीसीमा १२ करोडभन्दा बढी अनियमितताको आरोप, तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

डीडीसीमा १२ करोडभन्दा बढी अनियमितताको आरोप, तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्‍याई गैरकानुनी लाभ लिएको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको जनाएको छ। झा हाल संस्थानको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

सीआईबीका अनुसार पक्राउ पर्ने अन्यमा विभिन्न चिस्यान केन्द्रका तत्कालीन इन्चार्ज तथा संस्थानका कर्मचारी छन्। प्रारम्भिक अनुसन्धानबाट उनीहरूले आपसी मिलेमतोमा संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक हानि पुर्‍याएको र सोही बराबरको गैरकानुनी लाभ लिएको खुलेको छ।

उनीहरूलाई आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आरोप प्रमाणित हुन बाँकी छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply