एकै दिन देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्य

एकै दिन देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्य

काठमाडौं। देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। नवलपरासी (पश्चिम), सल्यान, दैलेख, झापा र मकवानपुरमा भएका दुर्घटनामा एकै दिन ६ जनाले ज्यान गुमाएका हुन्।

प्रहरीका अनुसार २०८३ कात्तिक १३ गते नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका–२ स्थित सेतो पुल नजिक हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ भलवाडीका ४० वर्षीय पोषकान्त पोख्रेल घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल परासी पुर्‍याइएका उनलाई चिकित्सकले दिउँसो १२:२० बजे मृत घोषणा गरेका थिए।

त्यस्तै, सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटे खोला नजिक लु १ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा स्थानीय २४ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र करिब ४३ वर्षीय साउने रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सल्यानकै बनगाड कुपिण्डे नगरपालिका–११ गरा क्षेत्रमा खलंगा–बालुवा संग्राही सडकखण्डमा रा १ च १७२३ नम्बरको डबल क्याब बोलेरो सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको छ। दुर्घटनामा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मालारानीका २५ वर्षीय पप्पु डाँगी घाइते भएका थिए। नगर अस्पताल देवस्थलमा उपचारका क्रममा उनलाई राति २:०८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै, दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ समला टोल नजिक चुप्राबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १८२६ नम्बरको बोलेरो पिकअपले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बर्दियाको बाँसगढी नगरपालिका–१ का २३ वर्षीय प्रतुस कुँवरले चलाएको गाडीको ठक्करबाट घाइते भएका स्थानीय करिब २९ वर्षीय जुठे विकलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा साँझ ८:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

झापाको कमल गाउँपालिका–५ सावित्रा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा झापाको शिवसताक्षी नगरपालिका–८ का करिब २८ वर्षीय सागर तिम्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते तिम्सिनालाई उपचारका लागि सुरुङ्गास्थित कनकाई नगर अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा साँझ ७:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

यसैगरी, मकवानपुरको बकैया गाउँपालिका–५ तीनतल्ले फास्टट्र्याक क्षेत्रमा ना ६ ख २९४९ नम्बरको ट्याङ्कर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का करिब ४० वर्षीय रमेश कुमार रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीको विवरणअनुसार कात्तिक १३ गते भएका यी छुट्टाछुट्टै दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply