अन्तराष्ट्रिय

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण बन्द गर्ने

पेन्गुइन, ८ वैशाख ।  उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको छ । विश्वकै लागि ठूलो तनावको विषयमा रुपमा लिएको उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गरिएको उत्तर कोरियाका नेता किम जोङ उनले बताउनु भएको छ ।
सत्तारुढ दलको एउटा विषेश बैठकमा नेता उनले शुक्रबार यस्तो घोषणा गर्नु भएको कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ ।
उहाँको यो घोषणासँगै दक्षिण कोरिया र अमेरिकासँगको वार्ता सकारात्मक तरिकाले अगाडी बढ्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।
नेता उनले आउदो साता दक्षिण कोरियाका राष्ट्रपतिसँग र त्यसपछि आउदो जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
दुवै देशसँगको वार्ताको तयारी भईरहेका बेला उत्तर कोरियाको तिव्र परिवर्तनका खवरहरु सार्वजनिक भईरहेका छन् । शान्ति र आर्थिक वृद्धिका लागि आफ्नो देशले आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गर्ने निर्णय लिएको नेता उनले बताउनु भएको छ ।
क्षेप्यास्त्र परीक्षणहरू बन्द गर्ने उनको घोषणालाई अन्य देशका नेताहरुले भने स्वागतयोग्य कदम भएको भन्दै प्रशंसा गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “यो उत्तर कोरिया र विश्वकै लागि अत्यन्त खुशीको खबर हो ।” ट्रम्पले यसलाई ठूलो उपलब्धिको रुपमा पनि व्याख्या गर्नु भएको छ । उहाँले उनसँगको आफ्नो भेटवार्ता पनि फलदायी हुने संभावना बढेको बताउनु भएको सञ्चार माध्यमहरुले लेखेका छन् । ट्रम्पले केही दिन अगाडि आगामी मे वा जुनमा उनसँग भेटवार्ता गर्ने तयारी भईरहेको जानकारी दिनुभएको थियो । -सिन्ह्वा/एएफपी