Home » Sample Page » धर्मगुरू आशाराम बलात्कार काण्डमा दोषी ठहर
अन्तराष्ट्रिय

धर्मगुरू आशाराम बलात्कार काण्डमा दोषी ठहर

जोधपुर, भारत, १२ वैशाख ।उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उहाँकै अनुयायी परिवारकी एक १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला बुधबार सुनाउनु भएको हो ।
ख्यातिप्राप्त एक धर्मगुरू गुरमितराम रहिमलाई भारतीय अदालतले यौनहिंसामा सम्लग्न रहेको भनी दिएको फैसलाको एक बर्ष नपुग्दै भारतीय अर्को अदालतले आशारामलाई पनि दोषी ठहर गरेको छ । आशारामसँगै उक्त मुद्दामा आरोपित चार जनामध्ये दुई सहयोगी सिल्पी र शरदलाई पनि उक्त घटनामा अदालतले दोषी ठहर गरेको छ भने अन्य दुईजना प्रकाश र शिवलाई निर्दोष भनी सफाई दिएको छ । विशेष अदालतको फैसला अनुसार आशारामले न्युनतम १० बर्षको जेल सजाय भोग्नुपर्नेछ । साबरमती नदी किनारमा एउटा कुटीबाट आफ्नो धार्मिक अभियानलाई शुरु गरेका आशारामका विश्वभर ४०० आश्रम र करिब दश हजार करोड धार्मिक अनुयायी रहेको आशाराममार्गीहरूको दावी छ ।
यसैबीच अदालतमा हिंसात्मक प्रदर्शन हुनसक्ने आशङ्का गर्दै न्यायाधीशले लगभग पाँच वर्षदेखि आशारामलाई बन्दी अवस्थामा राखिएको एउटा जेलमा उक्त फैसला सुनाएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एउटा सुरक्षा कारबाहीपछि सन् २०१३ मा उहाँलाई गिरफ्तार गरिएको थियो । उक्त समयमा सो नाटकीय घटनाक्रमलाई अविश्वास गर्दै उहाँका समर्थकले प्रदर्शनहरू गरेका थिए । पिडित बालिकाको परिवारको आशारामप्रति ठूलो भक्ति रहेको र उनले आशारामले सञ्चालन गर्ने आवासीय विद्यालयमा पढ्ने गर्थिन् ।-रासस/पिटीआई