मलेखु, धादिङ, ३० वैशाख । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१/आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
आज बिहान करीब ३ बजेदेखि आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरि माटो हालेर आगो दायाँबायाँ नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागी भएको २ घण्टा पछि काठमाडौँ महानगरको दमकलले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।
बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए । आगलागीपछि विद्युत्को तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ । आगो नेकपा बिप्लव नेतृत्वले आगो लगाएको आशंका गरिएको छ । घटनापछि अहिले उक्त सडक क्षेत्रमा सवारी साधनको चाप रहेको छ ।
भरतपुरमा बम विस्फोट :चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र खोजी जारी रहेको बताउनुभयो । मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको उहाँले बताउनुभयो । विप्लब नेतृत्वको बन्दको हल्लाले आज चितवनमा फाट्टफुट्ट मात्रै सवारी चलेको छ ।
Add Comment