विविध

समाचार साभार नगर्न काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ, ३१ वैशाख । प्रेस काउन्सिल नेपालले बिनाअनुमति तथा विश्वसनीयताको परीक्षण नगरी कुनै समाचार र समाचार सामग्री साभार नगर्न÷नगराउन सम्पूर्ण सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराएको छ । कुनै आमसञ्चारमाध्यमले तयार पारेको समाचार सामग्री अर्को आमसञ्चारमाध्यमले जस्ताकोतस्तै साभार गर्दा आफूलाई असर गरेको भन्ने उजुरी राष्ट्रिय समाचार समिति (रासस) लगायतका माध्यमबाट पर्ने गरेको काउन्सिलले जनाएको छ ।
यस्तै कतिपय आमसञ्चारमाध्यमले आफ्ना मौलिक समाचार तथा समाचार सामग्री अनुमतिबिना सम्प्रेषण हुने गरेको भन्दै यस्तो कार्य नगर्न सार्वजनिक सूचनासमेत जारी गरेका छन् । यस्ता प्रवृत्तिका कारण सिङ्गो पत्रकारिता जगत्प्रति नकारात्मक टीकाटिप्पणी हुने गरेको काउन्सिलको ठहर छ । प्रेस काउन्सिलको पछिल्लो अनुगमन र अभिलेखअनुसार समाचार सामग्री साभार गर्ने कार्यमा सबैभन्दा अगाडि विभिन्न अनलाइन माध्यम देखिएका छन् । यस्तो कार्य पत्रकार आचारसंहिता २०७३ विपरीत रहेको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो । पत्रकार आचारसंहिता २०७३ को दफा ८ (२) अनुसार ‘पत्रकार तथा सञ्चारमाध्यमले अन्य सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्री उपभोग गर्दा मूल स्रोत उद्धृत गरी पुनःप्रकाशन, प्रसारण वा वितरण गर्नुपर्दछ ।