काठमाडौं, ९ जेठ । राष्ट्रिय समाचार समितिका पत्रकार रोशा बस्नेतसहितको प्रथम महिला पत्रकार सगरमाथा आरोहण—२०१८ समूहले सगरमाथाको सफल आरोहण गरेको छ । सो समूहका चारजना आज बिहान ६ बजे चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । समूहका पाँचमध्ये चार जनाले मात्र सगरमाथाको सफल आरोहण गरेका हुन् । पाँचमध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका हुन् । मोरङ निवासी राससकर्मी बस्नेत रासस केन्द्रिय कार्यालयमा अंग्रेजी समाचार सम्पादन शाखामा कार्यरत हुनुहुन्छ ।
आज ८,८४८ मी अग्लो सगरमाथाको शिखरमा पुग्नेमा टिम लिडर रोजिता बुद्धाचार्य ९बिपी कोइराला मेमोरियल प्लानेटोरीयम अब्जरभेटरी र विज्ञान संग्रहालय०, राससकर्मी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ हुनुहुन्छ । ‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनारासहित सो महिला पत्रकार समूह आरोहणमा गएको थियो ।
उनीहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा पु¥याएका छन् । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको यो याम सकिन लागेको छ । अब एक दुईजना आरोही मात्र चुचुरोमा पुग्न बाँकी रहेको सम्पर्क अधिकृत श्रेष्ठले बताउनुभयो । आजसम्म ३४० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।
Add Comment