समाचार

सरकारको समृद्धिको नारा गफ मात्रै : सभापति देउवा

काठमाडौँ, जेठ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अघि सारेको समृद्धिको नारा गफ मात्रै भएको टिप्पणी गर्नुभएको छ । नेपाल टे«ड युनियन काँग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले जनताका दैनिक उपभोग्य वस्तुमा महंगी बढाएर समृद्धि नआउने बताउनुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सरकारले देखाएको व्यवहारले सरकार राष्ट्रवादी नभएको आरोप लगाउँदै सभापति देउवाले प्रश्न गर्नुभयो, “पहिले अरुण तेस्रो जलविद्युत परियोजना हुन नदिने अहिले त्यही परियोजना भारतलाई बोलाएर उद्घाटन गर्न लगाउने, यो कस्तो राष्ट्रवाद हो ?”
पार्टीभित्रको विवादका सम्बन्धमा उहाँले आफूलाई गाली गरेर पार्टी बलियो नहुने भन्दै मुलुकमा देखिएको चुनौतीको सामना गर्न एकढिक्का भएर काँग्रेसलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । पार्टी विधान वा सहमति अनुसार चल्नुपर्ने बताउँदै सभापति देउवाले भन्नुभयो, “आफूलाई आवश्यक परे सहमतिअनुसार भन्ने आवश्यक नभए विधानअनुसार चल्नुपर्छ भन्नु हुँदैन ।”