Uncategorized

बाघमाराका किसान तरकारीखेतीतर्फ आकर्षित

पोखरा, असार । लगभग ४० वर्षकै अन्तरालमा पहिचान नै बनाइसकेका कृषिजन्य उत्पादन दाल, पिडालु र गोलभेँडा छोडेर कास्कीको बाघमारामा यतिखेर लहरेबाली फस्टाएको छ । शहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति अनिच्छा बढिरहेको अवस्थामा पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित बाघमारामा भने यतिखेर स्थानीयवासी व्यावसायिक कृषितर्फ निकै आकर्षित देखिएका छन् । व्यावसायिकरुपमा फस्टाउँदै गएको दुग्ध उत्पादनका साथै तरकारी खेतीसँगै बाघमारा दूधको शहरका रुपमा घोषणा भइसकेको छ । चार दशकअघि बाघमारामा उत्पादन हुने पिडालु, उखु, दाल कास्कीसहित आसपासका विभिन्न स्थानमा माग हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।
तीन दशकपछि पिडालु र दालजन्य वस्तुको उत्पादनमा कमी हुँदै गोलभेँडा खेतीको विस्तार भएको थियो । करीब डेढ दशक अघिसम्म बाघमारा गोलेभेँडाको उत्कृष्ट उत्पादनयोग्य स्थल भए पनि त्यसयता लहरे खेतीको विस्तार भएको अगुवा कृषक केशवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार यतिखेर दैनिक चार पाँच गाडीसम्म यहाँको तरकारी पोखरामा निर्यात हुने गरेको छ । बाघमारामा व्यावसायिक कृषिको विकास भए पनि राज्यस्तरबाट कृषकलाई कुनै किसिमको राहत तथा सहयोग उपलब्ध हुन नसेको उहाँको भनाइ छ ।
“कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुले सही मूल्य पाउन सकेका छैनन्” उहाँले भन्नुभयो, “दुःख गरेर उब्जाउने कृषकले मूल्य पाएको छैन, उत्पादित समानको उपभोग गर्ने उपभोक्ता पनि ठगिएको छ, बिचौलियाले यसको फाइदा लिएका छन् ।” अर्का कृषक कृष्णप्रसाद आचार्यका अनुसार गोलभेँडाखेती पछि विस्तार भएको लहरे तरकारी खेती र दुग्धजन्य व्यवसाय यहाँको आयआर्जनको महत्वपूर्ण माध्यम बनेको छ ।
तीनताका बाघमाराको गोलभेँडा कास्की जिल्लामा मात्र नभएर स्याङ्जा, तनहुँका साथै नेपालका प्रमुख शहर बुटवल, काठमाडौँलगायतका स्थानमा निर्यात हुने गरेको उहाँले बताउनुभयो । “गोलभेँडाको उत्पादनबाटै यहाँका धेरै कृषकले ठूलो आर्थिक प्रगतिसमेत गरे,” उहाँले भन्नुभयो, “डेढ दशक देशव्यापीरुपमा ख्याति कमाएको यहाँको गोलभेँडा २०५५/५६ सालदेखि भने विस्तारै विस्थापित बन्दै लहरे खेतीतर्फ आकर्षण बढेको हो ।”
बाघमारामा व्यावसायिक कृषिकै माध्यमबाट धेरै सर्वसाधारणले आफ्नो जीविकोपार्जन गरिरहेको बेदबहादुर महतले बताउनुभयो । बाघमारामा उत्पादित घिरौँला, चिचिन्डा, लौका, फर्सी, सिमी, बोडीलगायतका लहरे तरकारी पोखरामा निर्यात हुने गरेको अर्का स्थानीयवासी शालिकराम भण्डारीले बताउनुभयो । उत्पादित तरकारीलाई ढुवानी गर्न सहज भएका कारण पनि कृषिको व्यावसायिकतातर्फ आकर्षण बढेको उहाँको भनाइ छ ।
“कृषकले उत्पादन गरेको लहरे तरकारीले मूल्य भने राम्रो पाउन सकेकोे छैन,” ममता खाजा घर पानी ट्यांकीका सञ्चालकसमेत रहेका भण्डारीले भन्नुभयो, “कृषकले राम्रो मूल्य नपाउने, उपभोक्ताले बढी मूल्य तिर्न बाध्य हुने तर विचौलियाले राम्रो आम्दानी गर्ने अवस्थाको अब अन्त्य गर्नु आवश्यक छ ।”
बाघमाराका सिस्ने, ठूलो डहर, तोरी चौर, भगवती चौतारालगायतका स्थान अत्यधिक तरकारी उत्पादन हुने स्थान हुन् । बाघमारामा व्यावसायिक कृषिप्रति बढिरहेको आकर्षणलाई कायमै राख्न राज्यस्तरबाट पनि यसको प्रवद्र्धन र विकास प्राथमिकतामा पर्नुपर्ने सरस्वती टीका माविका शिक्षक राजुप्रसाद पौडेलले बताउनुभयो ।
“कृषिप्रति अधिकांश स्थानमा अनिच्छा बढिरहेका अवस्थामा यस क्षेत्रमा व्यावसायिकतातर्फ बढिरहेको आकर्षणलाई निरन्तरता दिन कृषकमैत्री नीति राज्यले तय गर्नुपर्छ,” पौडेलले भन्नुभयो, “सहज बजार व्यवस्थापन, उन्नत जातको बीउबिजनको व्यवस्थापनका साथै कृषकले उत्पादित वस्तुको सही मूल्य पाउने अवस्था तयार गर्नु सरकारको दायित्व हो ।”