काठमाडौँ, असार । राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करीब एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकोे छ । केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा ८१९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार कारवाहीको सिफारिसमा परेकामध्ये समय पालना नगर्ने एक हजार ११९ जना र पोशाक नलगाउने ५४९ जना रहेका छन् । कारवाही सिफारिसमा परेकामध्ये सिंहदरबारभित्र रहेका मन्त्रालयका कर्मचारी सबैभन्दा बढी रहेका छन् । उपसचिवसमेत रहेका अर्यालका अनुसार सिंहदरबारका ४३ वटा कार्यालयमा गरिएको अनुगमनमा १८८ जना समय पालना नगर्ने र २८० जना पोशाक नलाउने परेका छन् । समय पालना नगर्ने र पोशाक नलगाउने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखलाई कारवाही गर्न निर्देशन दिइएको बताइएको छ । उहाँका अनुसार स्पष्टीकरण सोध्ने, सचेत गराउने र नसिहत दिनेसम्मका कारवाही गर्न सिफारिस गरिएको बताउनुभयो ।-रासस
Add Comment