स्पोर्ट-मनोरञ्जन

मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपाल सेमिफाइनलमा पुगेको छ । मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको छ । नेपालका लागि कुशल मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए भने ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाए । त्यसअघि अविनाश बोहराले ४ विकेट लिँदा मलेसियाले ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका सइद अजिजले सर्वाधिक ६८ रन बनाएका थिए ।

नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टिम ओमान बनेको छ । ओमानले मंगलबार बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो । पराजयसँगै सिंगापुर र मलेसिया छनोट चरणबाटै बाहिरिएको छ । बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा हुनेछ ।