स्पोर्ट-मनोरञ्जन

टी–२० विश्वकपमा छनोट भएसँगै नेपाली क्रिकेटले जगायो उत्साह

काठमाडौं । नेपाल र ओमान आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी विश्वकपमा छनोट भएका छन् । शुक्रबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएका हुन् । यस खेलसँगै नेपाल र ओमानले एसिया छनोटको फाइलन खेल्नेछन्। फाइनल आइतबार हुनेछ ।

मूलपानी माथिल्लो मैदानमा युएईले नेपाललाई विजयी हुन एक सय ३५ रनको लक्ष्य दिएको गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले दुई विकेट गुमाउँदै १७.१ ओभरमा लक्ष्य पुरा गरेको छ । युएईविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गर्दै उनले ५१ बलमा ६५ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २० बलमा ३३ रन बनाए । पहिलो विकेटको रूपमा आठ बलमा ११ रन बनाएर ओपनर कुशल भुर्तेल आउट भए । दुई चौका प्रहार गरेका कुशललाई निलान्स केश्वानीले कप्तान मुहम्मद वासिमबाट क्याच आउट गराएका थिए । दोस्रो विकेटको रूपमा २२ रन बनाएका गुल्सन झालाई गुमायो । तेस्रो नम्बर क्रिजमा आएका गुल्सनले तीन चौकासहित २४ बलमा २२ रन बनाए । बसिल हमिदले गुल्सनलाई बोल्ड गर्दा नेपाल ९.३ ओभरमा ६७ रन बनाएर खेलिरहेका थिए ।