अन्तराष्ट्रिय

ब्रिटिश वैज्ञानिक स्टेफन हकिङको निधन

लन्डन, ३० फागुन -एएफपी  । ब्रिटिश वैज्ञानिक प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङको निधन भएको छ । उहाँ ७६ वर्षको हुनुहुन्थ्यो । उहाँको परिवारले जनाएअनुसार उहाँको बुधबार निधन भएको हो । उहाँ एकजना सुप्रसिद्ध भौतिशास्त्री हुनुहुन्थ्यो । हकिङले सन् १९८८ मा लेख्नुभएको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ संसारमा नै धेरै बिक्रि हुने पुस्तकमा परेको थियो । भौतिकशास्त्र सम्बन्धमा ठूलो ज्ञान भएका उहाँले यस क्षेत्रको ‘ब्ल्याक होल’ र सापेक्षताबारेमा कैयौँ शोधहरु गर्नुभएको थियो । उहाँले भौतिक विज्ञानसम्बन्धी कैयौँ विश्वप्रसिद्ध पुस्तक लेख्नुभएको छ । उहाँका तीन छोराछोरीले बुधबार विज्ञप्ति प्रकाशन गरेर उहाँको निधनको जानकारी गराएका छन् ।
उहाँका तीनजना छोराछोरी लुसी, रबर्ट र टिमले उक्त विज्ञप्तिमा भन्नुभएको छ ‘हाम्रा प्यारा बुवाको आज निधन भएकाले हामी अत्यन्तै दुःखी छौँ’ । सो विज्ञप्तिमा उहाँहरुले उहाँ महान् वैज्ञानिक र असाधारण व्यक्ति हुनुहुन्थ्यो भन्नुभएको छ । उहाँका कृतिहरु, काम र योगदान आगामी धेरै समयसम्म पनि जिउँदो रहने छ उहाँहरुले भन्नुभएको छ । उक्त विज्ञप्तिमा उहाँहरूले आफ्ना पिताको ‘साहस र दृढता’ को निकै प्रशंसा गर्दै उहाँको प्रतिभाले संसारका मानिसहरूलाई नै उत्प्रेरित गर्ने विश्वास पनि उहाँहरुले व्यक्त गर्नुभएको छ । उहाँलाई २१ वर्षको उमेरमा नै शरीरका अंगहरु नचल्ने एक दुर्लभ प्रकृतिको रोग लागेको थियो । त्यसपछि चिकित्सकहरुले उहाँलाई केही वर्षमात्र बाँच्ने घोषणा गरेका थिए ।
त्यसको केही वर्षपछि उहाँ शारीरिक रुपमा अशक्त हुनुभयो र ह्वीलचियरको सहायतामा रहनुभएको थियो । उहाँ पछिल्लो समयमा पक्षाघात भएर घरैमा रहनुभएको थियो । शारीरिक रुपमा उहाँ केही गर्न सक्ने अवस्था हुनुहुन्थ्यो । उहाँ ह्वीलचियरको सहायताले मात्र यताउती गर्नसक्ने अवस्थामा रहनुभएको थियो । विश्वविद्यालयका प्राध्यापक समेत रहनुभएका उहाँका पुस्तकहरु भौतिक विज्ञान विषयका लागि विश्वमा नै लोकप्रिय छन् ।
उहाँ शारीरिक रुपमा अशक्त मानिसले पनि अनुसन्धान, अध्ययन एवम् अरु प्राज्ञिक क्षेत्रमा कतिसम्म गर्नसक्छ भन्ने विषयमा विश्वमा नै एक उदाहरण बन्नुभएको थियो । सन् १९४२ को जनवरी ८ मा जन्मिनुभएका उहाँलाई विश्वका सुप्रसिद्ध वैज्ञानिकहरु अल्बर्ट आइन्स्टाइन र सर आयज्याक न्युटनपछिका वैज्ञानिकका रुपमा तुलाना गर्ने गरिन्थ्यो ।
उहाँलाई यी प्रसिद्ध वैज्ञानिकसँग तुलना गरेर हेर्ने गरिएकोले पनि उहाँ विश्वप्रसिद्ध हुनुभएको थियो । उहाँलाई सन् १९७९ मा क्याम्ब्रिज विश्वविद्यालयको गणितको प्राध्यापकका रुपमा नियुक्त गरिएको थियो । पछि उहाँ स्वअध्ययनका लागि अक्सफोर्ड विश्वविद्यालयमा जानुभएको थियो । उहाँका विज्ञान, भौतिक विज्ञान तथा गणितका पनि निकै लोकप्रिय पुस्तक र खोजहरु रहेका छन् । उहाँको निधनले देशलाई ठूलो क्षति पुगेको यहाँका प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरुले बताएका छन् ।-एएफपी