अन्तराष्ट्रिय

फ्रान्समा शक्तिशाली बवण्डर, ४१ जना घाइते; सयौँ घरमा क्षति

काठमाडौं । फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको शक्तिशाली बवण्डरले ठूलो क्षति पुर्‍याउँदा कम्तीमा ४१ जना घाइते भएका छन्। सबैभन्दा बढी प्रभावित पुमास गाउँमा सयौँ घरका छाना उड्नुका साथै सवारीसाधन र संरचनामा क्षति पुगेको छ।

स्थानीय अधिकारीका अनुसार घाइतेमध्ये १५ जनालाई अस्पताल लगिएको छ। घर भत्किँदा गर्भवती महिलासमेत घाइते भएकी छन्। बवण्डरका क्रममा हावाको गति प्रतिघण्टा ११७ किलोमिटरसम्म पुगेको बताइएको छ।

सोमबार आएको खराब मौसमपछि उद्धार तथा राहतका लागि १२० भन्दा बढी आपत्कालीन कर्मचारी परिचालन गरिएको थियो। प्रारम्भिक अनुमानअनुसार करिब ३०० घरमा कुनै न कुनै प्रकारको क्षति पुगेको छ।

चरम मौसमका कारण दक्षिण–पश्चिम फ्रान्सका १० वटा गाउँमा करिब २ हजार ८०० घर विद्युतविहीन भएका छन्। हवाई तथा सडक यातायातसमेत प्रभावित भएको छ भने बोर्डो, मार्से, नाइस र टुलुजलगायत विमानस्थलमा उडान ढिला तथा रद्द भएका छन्।

औड विभागमा परेको ठूलो असिनापानीपछि चर्चित ‘भुएल्टा अ एस्पान्या’ साइकल दौडको तेस्रो चरणसमेत रद्द गरिएको छ। खराब मौसमका कारण साइकल खेलाडीहरूलाई सुरक्षित स्थानमा लैजानुपरेको थियो।

पुमासमा खिचिएका दृश्यहरूमा उखेलिएका रुख, क्षतिग्रस्त गाडी तथा भत्किएका घरका भग्नावशेष देखिएका छन्। फ्रान्सको मौसम सेवा मेटेओ–फ्रान्सका अनुसार देशमा हरेक वर्ष औसतमा दर्जनौँ बवण्डर आउने गरेका छन्।

यो घटना युरोपमा यस वर्ष देखिएको असामान्य गर्मी, डढेलो र अन्य चरम मौसमी घटनाक्रमकै बीच भएको हो। फ्रान्सको दक्षिण–पश्चिम क्षेत्र यसअघि ठूलो वन डढेलोबाट समेत प्रभावित भएको थियो।